बझाङ : थलारा गाउँपालिका -९ खानी गाँउमा तरकारी र वाली सिँचाईका लागि बर्षा पम्प जडान गरिएको छ । युनाईटेड मिसन टु नेपाल र प्रगतिशिल युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा सेती नदीमा वर्षा पम्प जडान गरिएको हो ।
तरकारी खेतीलाई लक्षित गर्दै सेती नदी बाट बर्षा पम्पको सहयोगले गाउँमा पानी लिफ्टिङ् गरेर सिँचाई सुविधा पुर्याइएपछि यहाँका ३५ परिवार लाभावन्वित भएका छन् । परियोजनाको ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाईप ल्याई गाँउभन्दा तल रहेको सेती नदीको पानीमाथि गाउँमा ल्याइएको हो ।
सिँचाईको लागि पानी पाएपछि स्थानिय हर्षित भएका छन् । तरकारी राम्रो उत्पादन हुने भएको भए पनि सिँचाई सुविधा नहुँदा व्यवसायिक रुपमा तरकारी खेती गर्न नसकिएको स्थानीय दिनेश सुनारले बताए ।
उनले भने, “अरु उत्पादन भन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाईका लागि पानी नहुँदा सास्ति भोग्नु परेको थियो । वर्षातको समयमा त गाउँ नजिकै पानीका मूलहरु फुट्ने भएकाले वर्षे तरकारी राम्रै हुन्थ्यो । अव वर्षा पम्पबाट गाउँमा पानी पुगेपछि तरकारी वालीमा सिंचाई गर्न सहज हुने भएको छ । गाउँमा पानी पुगेपछि खुसी लागेको छ ।”
अर्का स्थानीय अमर सुनारले गाँउमा सिँचाईका लागी पानी पुगेसंगै बर्षौ देखिको गाँउलेको तरकारी खेती गर्ने धोको पुरा भएको बताए । सुनारले भने, “घर छेउमै सेती नदी बगे पनि सिँचाईका लागी पानी उपभोग गर्न पाएका थिएनौ । घर छेउमै ठुलै नदी बगेपनि पानी उपभोग गर्न नपाउनु हाम्रो र्दुभाग्य हो । वर्षौदेखि पानीको अभाव भोगेका हामीहरुलाई वर्षा पम्पबाट लिफ्टिङ् गरेर ल्याएको पानीले राहात भएको छ । अब हिँउदे तरकारी उत्पादन गर्न पनि सहज भएको छ । बर्षा पम्प जडानसँगै कृषकहरुमा परम्परागत कृषि शैलीलाई परिर्वतन गरी नयाँ प्रविधि र यन्त्रीकरण गरेर व्यवसायिक रुपमा तरकारी खेती गर्न सिकाएको छ ।”
यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो । यो मेसिन हावा र पानीको माध्यमबाट घुम्ने गर्दछ । यो मेसिनबाट २० मिटर भर्टिकल उचाईसम्म र २ किलोमिटर होरिजेन्टलसम्म पानी पठाउन सकिन्छ । हावा र पानीबाट चल्ने भएकाले यस्को एकतर्फी मात्र खर्च हुन्छ । एकैचोटी किन्दा मात्र खर्च हुने भएकाले खोला किनाराका सिचाँई सुविधा नभएका ठाँउका लागी प्रभावकारी हुने सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले बताए ।