न विवेकशील विवेकशील भए, न साझा साझा रहे…
त्यसैले म जस्ता स्वतन्त्र युवा आ–आफ्नै बाटो गए!
मैले विवेकशील साझा अन्तर्राष्ट्रिय समितिको प्रवक्ता लगायत अन्य सबै भूमिका बाट राजीनामा दिइसकेको जानकारी गराउँछु। मैले किन छोडेँ भन्ने कुरा वैकल्पिक राजनीतिमा आजकल चलेको शैलीमा सार्वजनिक रूपमा नै स्पष्ट पार्दै छु। यो कोही व्यक्ति या समूहप्रति लक्षित नभई मेरो सामाजिक उत्तरदायित्वको प्रष्टीकरण हो।
१) मेरो वैचारिक समर्थन देशमा अवस्था सुधार गर्न चाहिएको विकल्पप्रति थियो—
हो ! हामीलाई विकल्प चाहिएको छ। शिक्षा, स्वास्थ्य सुधार र व्याप्त भ्रष्टाचार विरुद्धका अभियानहरूमा मेरो समर्थन थियो र रहने छ। धर्मको राजनीति गर्न राप्रपा र सङ्घीयताको विरोध गर्न जनमोर्चा छदै थिए । अब अवस्था सुधारका मुद्दा ओझेलमा परेपछि अझै आफूलाई ’वैकल्पिक’ भन्नेहरूको साथमा रहनुको औचित्य रहेन। स्विडेन, फिनल्यान्ड पु¥याउन भनेर उडेको जहाज मार्ग परिवर्तन गरी काबुल उत्रिन खोजेपछि हामी प्यारासुट बाट हाम्फाल्न बाध्य भयौँ।
२) व्यक्तिवादी नेतृत्व, गुटगत कार्य शैली र अन्धभक्तहरूको जमातः वैकल्पिक राजनीतिमा यिनै प्रवृत्तिको लामो समय विरोध गर्दै आएको मेरो कलम र माइकले यस्तै प्रवृत्ति विवेकशील साझामा हाबी भएपछि समर्थन गर्न सकेन। एउटा नेतालाई ’बा’ मानेर आँखामा पट्टी बाँधेर, कानमा तेल हालेर अनि मुखमा बुझो कोचेर समर्थन हैन वैकल्पिक राजनीति र सचेत युवाले गुण र दोषको आधारमा समर्थन या आलोचना गर्छ।
एउटा व्यक्तिले राजाले शाही घोषणा गरे झैँ सिङ्गो पार्टीको मार्ग परिवर्तनको प्रस्ताव सोझै मिडिया बाजी गर्नु अघि पार्टीका समर्थक लाई एक चोटि सोध्न पनि आवश्यक नठाने पछि त्यो प्रस्तावलाई संविधान भन्दा माथि , सामाजिक न्याय भन्दा माथि राखेर पूजा गर्ने, प्रश्न नै नगरी समर्थन गर्ने अन्ध भक्ति मलाई श्री पशुपतिनाथले दिनु भएन। ’बा’ क्षमा दान गरी बक्सियोस ।
३) आफ्ना छोरा छोरीलाई सङ्घीयताको उच्चतम अभ्यास भएका लोकतान्त्रिक मुलुक पठाउने अनि आम नेपालीका छोराछोरीलाई विपरीत दिशा र अस्थिरतातर्फ धकेल्ने प्रयास गर्ने ? ः— यस्तै आरोप हिजो अन्य दलका नेतालाई लगाउँदै गर्दा आज वैकल्पिक भन्नेहरूले यसको जवाफ दिनु पर्ला कि नपर्ला ?
४) पछाडि फर्केर समाधान हुँदैनः— हो अहिलेको व्यवस्थाको व्यवस्थापनमा समस्या छन् तर समस्या पात्रको हो प्रणालीको हैन । संसारका अधिकतम विकसित देशमा सफल व्यवस्था हामीकहाँ केही वर्षमै असफल भयो भन्नु सतही विश्लेषण र पूर्वाग्रही अभिव्यक्ति हो ।
के नेपालमा शताब्दीभन्दा बढी केन्द्रात्मक प्रणालीबाट शासित हुँदा विकसित भयो ? (हिजो काठमान्डु र काठमान्डुभित्र पनि एक दरबार एक जहानियाँ शासन थिएन र ?) त्यही प्रणालीले समृद्धि, स्वतन्त्रता र समावेशी सामाजिक न्याय दिन नसकेर लाखौँ जनताको विद्रोह र हजारौँको बलिदानले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको हो ।
अबको सङ्घर्ष अवस्था बदल्न केन्द्रित गरौँ । धर्म र केन्द्र शासित र एक परिवार संविधानभन्दा माथि मान्ने संविधान संशोधन गर्ने हो भने त प्रजातान्त्रिक २०४७ को , पञ्चायती २०१९ को भन्दा पनि राणा कालीन १९१० को मुलुकी ऐन पो बढी उपयुक्त छ त।
धर्म रक्षक राजा खोज्ने हो भने मल्लकाल फर्काऔँ । अन्तिम शाह वंशको परिवारले बेचेका हिन्दु देवी देवताका मूर्ति आज न्यूयोर्कमा भेटिँदै छन् । ती बनाउन लगाउने वास्तविक धर्म रक्षक त मल्ल राजा हुन । आँखाको पट्टी उघारौँ । समाज र समय अघि बढ्छ पछि हिँड्दैन।
५) प्रवासका डलर दिने दाजुभाइ, केवल दूध दिने गाई :— नोट चल्ने भोट नचल्ने भन्ने नारा लगाउने पार्टीले देश विदेशमा बसेका नेपाललाई माया गर्ने, देशमा अवस्था सुधार भएको हेर्न चाहने विज्ञहरुको सल्लाह, सुझाव मागेको देखिएन। न हामीले दिएका सुझाव नै ग्रहण गरिए। अब प्रवासमा बसेर आफ्नो गाँस काटेर वैकल्पिक पार्टीलाई मद्दत गर्ने दाजु भाइहरूलाई केन्द्रबाट हुकुम मात्रै नचलाई बक्सियोस्। उनीहरूको विज्ञता, क्षमता र फराकिलो सोचले तपाईँहरूको आँखाको भ्रमको पट्टी उघार्न सक्थ्यो तर तपाईंहरुलाई त दुहुनो गाई मात्रै चाहिएको न हो।
यी सबै मेरा व्यक्तिगत विचार मात्रै नभई आजको दिनमा विवेकशील साझा पार्टी परित्याग गर्ने हरेक सचेत, देशभक्त युवाका हृदयका वेदना हुन् । देशमा पात्रहरूको भ्रष्ट शैलीप्रति असन्तुष्टि बढेको धमिलो पानीमा तपाईँहरूको जनताको पुरातन चेतको माछा मार्ने प्रयासलाई वैकल्पिक भन्ने आधार अब रहेन।
स्मरण रहोस् राष्ट्रवाद पुरातन सोचवादीहरूको मात्रै ठेक्का हैन । ल आउनुहोस् ’वैकल्पिक’ मित्रहरू आ–आफ्नो चेतनाको स्तर झल्किने गाली गलोज सहितका कमेन्ट गर्नुहोस्। ’बा’ को बचाउ गर्नुहोस्। पशुपतिनाथले सबैको आँखा बेलामै उघारुन्। जय देश। डिसी नेपाल डटकम बाट साभार..........