बझाङ : सरकारले बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । जसमा बझाङका थलारा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तह रहेका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुने गरी ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निणर्य गरेको हो । स्थानीय तह बाढी, पहिरोलगायतबाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
यता बझाङको सुर्मा र मष्टामा पनि क्षति भए पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरिएको भन्दै यहाँका स्थानीय र पार्टी प्रतिनिधिले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका नेता ज्ञानबहादुर बोहरा र निर्माण व्यवसायी दिपक रोकायाले मष्टालाई फेरि पनि समेट्न सामाजिक सञ्जाल मार्फत् आग्रह गर्नुभएको छ ।
उता सुर्मामा पनि धेरै क्षति भए पनि सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरेको भन्दै समाजसेवी तथा व्यवसायी चक्र बोहराले आपत्ति जनाउनुभयो ।
यी स्थानीय तह बाढी, पहिरोलगायत विपदबाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिनेछ ।