नेकपा एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भयो । जन्मिएको ९ महिनामै चुनावी मैदानमा होमिनु नेकपा एकीकृत समाजवादी पार्टीलाई त्यति सहज थिएन । नेकपा एमाले र नेपाली कांग्रेसकाे ब्रर्चश्व रहेको बझाङमा नेकपा एकीकृत समाजवादीलाई जनता जनार्दन अन्य नेता कार्यकर्ताले पत्याउने आधार थिएन । नेकपा एमाले परित्याग गरि आएका गणेश बोहरा, नेता लक्ष्मीप्रसाद जोशी, इन्द्र भण्डारी, विरेन्द्र भण्डारी,हरिप्रसाद जोशी लगायतले नेकपा एसलाई बझाङमा निकै ठूलो कसरत गरि पार्टीलाई अगाडी बढाए ।
त्यस लगत्तै देशभर नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलिय गठबन्धन भयो । नेकपा एमालेभित्र आफन्तवाद, अहमता र निरकुंशता रहेको आरोप लगाउने नेकपा एसले गठबन्धनलाई ध्वस्त पारेर केही सिकाउन चाहन्थ्यो तर अझैं त्यो स्थानीय तह चुनावमा पुरा हुन सकेन ।
स्थानीय तह चुनावमा नेकपा एसलाई सोचेजस्तो साथ गठबन्धनमा आवद्ध दलहरुले नदिएको नेकपा एसका नेताहरु दाबी गर्छन् । बझाङको केदारस्युँ गाउँपालिकामा पनि नेकपा एसलाई गाउँपालिका अध्यक्ष भाग परेको थियो । गाउँपालिका अध्यक्षका उम्मेद्वार थिए गणेश बोहरा ।
विगतमा शिक्षण पेशा परित्याग गरि थुप्रै राजनीतिक उतारचढाव भोग्दै केदारस्युँ ८ को वडाध्यक्षको ५ वर्षे कार्यकाल पनि विताइसकेका बोहरालाई गाउँपालिका जित्न त्यति सहज थिएन । भेगीय, जातियताका हिसाबमा राजनीति हुने यस पालिकामा यसपटक उनका प्रतिद्धन्दी नेकपा एमालेका गाउँपालिका अध्यक्ष उम्मेद्वार लोकेश भण्डारीसँग लडाइ लड्नु थियो । गठबन्धन भए पनि मतदाता बाँडिने र मत बदर हुने डर बोहरामा थियो । तर वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा जेठ ५ गते सार्वजनिक हुँदा उनी प्रतिद्धन्दीभन्दा दोब्बर मतले बिजयी भए । नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९ सय १३ मतलेपछि पार्दै बोहरा विजयी भएका हुन् ।
अध्यक्ष बोहराले ४ हजार ३२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भण्डारीले २ हजार ४०८ मत पाएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशभरी एकीकृत समाजवादीबाट जित्ने बोहरा दोस्रो पालिका प्रमुख हुन् । सुदूरपश्चिमका ९ जिल्लाका ७६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एकीकृत समाजवादीले दुई पालिका मात्रै जितेको हो । समाजवादीले कैलालीको घोडाघोडी नगरपालिकाबाट खाता खोलेको थियो। नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन । रावतले १३ हजार १२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए । निर्वाचित गणेश बोहरा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका शिवराज जोशीलाई ३ सय १५ मतले पछि पार्दै वडाध्यक्ष बनेका थिए ।
गणेश बोहराको राजनितिक पृष्ठभूमी
बोहरा २०५० सालदेखि विद्यार्थी राजनितिमा प्रवेश भएका थिए । २०५६ सालमा बोहरा नेकपा मालेको संगठित सदस्य बने । त्यसै वर्ष बोहरा माले सम्बद्ध अनेरास्ववीयू कञ्चनपुर जिल्ला कमिटी सदस्य पनि बने । त्यसपछि २०६३ सालदेखि २०७४ सालसम्म कैलाश मावि लोतु केदारस्युँ ८ र भैरब माबि झोता केदारस्युँ ९ मा अध्यापन गराए । बोहरा शिक्षक हुँदा पनि नेपाल राष्ट्रिय शिक्षक संगठनको आजिवन सदस्य बनेका थिए । २०७४ सालको स्थानीय तह चुनावमा बोहरा नेपाली कांग्रेसका शिवराज जोशीलाई पछ्याउँदै केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा बिजयी भए । २०७९ साल वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादी तथा तीन दलिय गठबन्धनबाट केदारस्युँ गाउँपालिकाका लागि गाउँपालिका अध्यक्ष पदका प्रत्यासी बने । २०७९ साल जेठ ५ गते उनी गाउँपालिका अध्यक्षमा बिजयी घोषणा भए ।
बोहराको शैक्षिक योग्यता
बोहराले अर्थशास्त्र विषयबाट एमए पास गरेका हुन् भने पाठ्यक्रम शैक्षणिक योजनाबाट एमएड पनि गरेका हुन् । उनी पढाइका हिसाबले केदारस्युँका सबै जनप्रतिनिधिभन्दा अगाडी छन् ।