सरकारले बझांगी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गरेको छ । जयपृथ्वीबहादुर सिंहलाई असार ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय विभूतिमा थप गरेको छ । यो संगै जयपृथ्वीबहादुर सिंह नेपालको १८ औ राष्ट्रिय विभूति भएका छन । जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभुती घोषणा गराउन जयपृथ्वी फाउण्डेसनका संस्थापक मिन बहादुर सिंह लामाे समय देखि पहल गरिरहेका थिए ।नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्याएका जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो ।
को हुन् जयपृथ्वी ?
वि. सं १९३४ भदौ ७ मा सैपाल हिमालको काख बझाङमा जन्मिएका थिए– जयपृथ्वी । बुवा विक्रमबहादुर सिंह र आमा रुद्र कुमारी सिंहको कोखबाट जन्मिएका जयपृथ्वी मरणोपरान्त नेपालीका शान बनेका छन् ।
नेपाली भाषाको पहिलो किताब ‘अक्षरांक शिक्षा’ का लेखक, बझाङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक जस्ता पहिचान पनि उनीसँग जोडिएका छन् ।
सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली हुन् उनी ।
३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपाली पनि उनी हुन् ।
यस्तै, सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली पनि जय पृथ्वी नै हुन् ।
उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरेका थिए । सोही वर्ष मानवतावाद भन्ने पुस्तक लेखे । ह्युमानिस्ट अर्थात मानवतावादी भन्ने अखबार सञ्चालन गरे । र, विश्वमा शान्तिको सन्देश दिँदै हिँडे ।