बझाङ : बझाङको केदारस्युँ गाउँपालिकाबासीका लागि सबैभन्दा नजिकको बैंक रहेको स्थान हो झोता बजार । केदारस्युँ गाउँपालिका ०९ मा पर्ने यस बजारमा स्थानीय तहका लागि स्थानीय तहका लागि स्थापना भएको एक मात्रै बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।
यस बैंकबाट केदारस्युँ गाउँपालिकाले सबै कारोबार र सामाजिक सुरक्षाभत्ता पनि वितरण गर्दै आएको छ । गत मंगलबार केदाररस्युँ ६ का ७५ वर्षीया जेष्ठ नागरिक रेपति गुर्धामी बैंकको बाहिर लामा लामा सुस्केरा हाल्दै बसिरहेकी थिइन् ।
उनी दमकी बिरामी भएकाले कच्ची सडकमा लामो गाडीको यात्रा र वान्ताले निकै कमजोर भइसकेकी थिइन् । भत्ता बुझ्नेहरुको निकै ठूलो लाइन भएकाले बैंकले क्रमिक रुपमा बोलाइरहेको थियो ।
थकित मुन्द्रामा रहेकी रेपति गुधार्मीले भनिन्, ‘यै सरकारले सक्या घरघर नसक्या वडामा भत्ता बाड्नु हो । हामुजसा बुढाबुढी देवाला भया बाबु । आउन झान दुई हजार जीप भाडा लिदा छन् । नानु चायापानी खानुइ पड्यो । भत्ता बुझ्न आउँदाझाँदा सब्बै गरि २ हजार ५ सय खर्च हुँदो । यति खर्च भयापछि हामुले भत्ता बुझ्याको क्या सार भयो ?’
उनीसँगै केदारस्युँ ६ कुँवर गाउँका पठाने धामी पनि आफ्नी विरामी श्रीमतिसहित जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्न झोता पुगेका थिए । उनकी ८० वर्षीयाश्रीमति गंगा धामी टाउकोमा हात राखेर बसिरहेकी थिइन् । उनी बोल्ने अवस्थामा थिइनन् । पठाने धामी आत्तिएर घरि यता घरि उता गर्दै थिए । उनले आत्तिदै भने,‘मेरी स्वाइनी मर्न लाइगई हजुर । छकालै अन्नी नखाइ आयाका हौं । केइ विरामले सक्याकी छिइ केइ गाडीका धक्काले मा¥यो हजुर । केइ खान्या हैकी भनी सोध्या पन बोल्दिनँ । घरघर सरकार आयो भन्दाछियाइन हजुर हामुले यत्रा दुःख केइ भोग्ना पड्या ? वडामी बाँड्या हुँदैन क्या धैं भन्दा हजुर ।’
उकाला ओराला कच्ची सडकमा लगातार ४ घण्टा भोकै पेटमा यात्रा गरेपछि धक्का लागेर गम्भीर विरामी जस्तै बनेकी केदारस्युँ ६ कै ७५ वर्षीया लालमति गुर्धामीले पनि सामाजिक सुरक्षा भत्ता बुझ्न निकै सास्ती भएको बताइन् । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएर वितरण गर्नु न्यायोचित भए पनि पायक पर्ने ठाउँमा बैंक नहुनु नै अहिलेको मुख्य समस्या भएको उनको गुनासो थियो । उनका अनुसार भत्ता बुझ्नका लागि ग्रामिण भेगका नागरिकले एक दिन नै छुट्याउनुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने र खर्च व्यवस्थापन गर्नुपर्ने जस्ता समस्या देखिएका छन् ।
बझाङलाई पनि काठमाडौ देख्ने सरकारको नजर नहटेसम्म दुरदराजका जनताले लोकतन्त्रको आभास गर्नु सपना मात्र भएको सामाजिक अगुवा धर्मजंगबहादुर सिंह बताउँछन् । उनले जनताको मर्कालाई बुझेर बझाङको दुर्गाथली गाउँपालिका, साइपाल गाउँपालिका लोकतन्त्रको अभ्यास गरेको र अरु पालिकाले पनि यसको अनुसरण गर्नुपर्ने बताए । यस आर्थिक वर्षमा साइपाल गाउँपालिका र दुर्गाथली गाउँपालिकाले मात्रै घर घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । विगतमा बैंकबाट भत्ता बुझेर झन्झट भोगिरेहेका दुर्गाथली २ का डम्बर खाती आफ्ना लागि सिंहदरबार घरमै आएको बताउँछन् ।
सुर्मा, छबिस, मष्टा, थलारा, वित्थडचिर गाउँपालिका, जयपृथ्वी र बुंगल नगरपालिकाका प्रायः जसो वडाहरु निकै दुर्गम भएकाले यहाँका लाभग्राही पनि सास्ती भोग्न बाध्य छन् ।
जेष्ठ नागरिकसँगै अपाङ्गगता भएका व्यक्तिहरुले पनि भत्ता लिन सास्ती खेप्नु परेको गुनासो उनीहरुको छ। सुर्मा गाउँपालिका २ को गजौनका दिपक बोहराले एक दिनभर लगाएर आफ्नी बुढी बज्यैलाई पिठ्युमा बोकेर बैंक खाता खोल्न आएको भन्दै दुख पोखे । बोहरा भन्छन् ‘घरबाट बिहान ६ बजे हिड्नुपर्छ, बाटोभरि जंगल हुँदा झनै सास्ती छ, पहिले पहिले वडा कार्यालयबाटै भत्ता पाइन्थ्यो, अहिले दौलिचौरस्थित एभेरेष्ट बैंकमा खाता खोलेको भए पनि त्यहाँ इन्टरनेटले काम नगर्दा चैनपुर आउनुपर्दा धेरै नै दुःख भएको छ।’ भत्ता लिनकै लागि भोकभोकै दिन बिताउनुपर्ने भन्दै बिरामी, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती भोग्नुपरेको उनको भनाई छ। ‘वडा–वडामा भत्ता वितरण गर्ने हो भने कसैलाई पनि सास्ती हुँदैन,’ उनले भने ।
भौगोलिक हिसाबले मात्रै बझाङका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई सास्ती छैन । बैंकमा इन्टरनेट नचल्ने, दिनभर लाइन लाग्नुपर्ने, पालिकाको सिफारिस आदि पनि लाभाग्राहीका प्रमुख समस्या हुन् । घरमा छोराछोरी नभएका साहाराविहीन वृद्धवृद्धा, असहाय, अपाङ्ग र एकल महिलालाई झन् समस्या हुने गरेको जयपृथ्वी नगरपालिका ३ का पत्थरी बोहरा बताउँछन् । बैंक र पालिकाका कर्मचारीले आफूहरुको पिडा नबुझ्ने गरेको बोहराको भनाई छ ।
बुङगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकी देवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझदै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छन । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पु¥याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ । उनी भन्छिन्, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । भोली भत्ता बुभ्mन को गइदेला । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ । दुई घण्टा जति जिपमा जानु पर्छ । सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो । पहिलेका जसरी घरमै पुगेर दिए राम्रो हुने उनको भनाइ छ ।”
हरेक चौमासिकमा घरमै वृद्धभत्ता बुझ्दै आएकी बुङगल नगरपालिका–२ लौनेकी चन्द्रा धामीलाई बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । लौनेबाट वडा कार्यालयसम्म पुग्न ५ घण्टा हिँडनुपर्छ । वडा कार्यलयबाट साना सवारी जिप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङगल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको उनको भनाइ छ । उनी भन्छिन्, “पहिले घरमै दिन्थे । कहिले भतिजा भतिजीहरुलाई बुझेर ल्याउन भन्थें । तर अहिले साह्रै दुःख छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौं लाइनमा बस्नुपर्छ । एकातिर समयको पनि खर्च अर्को तिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडीभाडा र खाना खर्चमै सकिन्छ । भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौं पैदल हिँडेर बजार पुग्नु परेको उनको भनाइ छ ।
बझाङका अधिकांस लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागी कम्तिमा २ घण्टादेखि १ दिन हिडेर बैंक पुग्ने गरेका छन । बैक पुगेपनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौं हिँडनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिले काँही बैकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन समस्या हुने गरेको छ । कतिपयको एकदिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर र्फकनु परेको अवस्था आउने गरेको साईपाल गाउँपालिकाका मिलन धामीले बताए ।
गाउँनजिकै बैक नहुने र टाढाटाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौं बालबालिका, अपांग, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिनु पर्ने लाभग्राहीको माग छ ।