बझाङ : राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भोली र पर्सि सेती नदीको बहाब उल्लेख बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार बिहीबारभन्दा धेरै बढ्ने चेतावनी दिएको हो । दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ ।न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ । पछिल्लो ६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा भइराखेको छ । बुधबार प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्ष भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध गरेको छ । वर्षा कायमै रहने भन्दै महाशाखाले असोज २२ गतेसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो लगायतका कुनै जोखिम भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृहमन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
पछिल्लो दुई दिनयता मौसम बदली भएर देशभर वर्षा भएको छ । बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा असर गरिरहेको मौसमविद् कँडेलले बताउनुभयो । वर्षाको लहर पूर्वबाट गण्डकी, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेशसम्म पनि पुगिसकेको छ । धेरै ठाउँमा बुधबार दिनभर वर्षा भएको छ भने केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।
बुधबार बेलुकीदेखि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । अबको तीन दिन मौसममा सुधार हुने सम्भावना कम रहेको भन्दै हिँडडुल गर्दा र खेतीबाली भित्र्याउँदा सावधानी अपनाउन उहाँको आग्रह छ । अक्टोबर २ सम्म मनसुनी प्रभाव रहने औसत समय रहेकाले त्यसभन्दा तीन दिन ढिला आजसम्म नेपालमा मनसुन कायमै रहेको छ ।