गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टीकाबहादुर बोगटीले प्रज्वलन गर्नेछन् ।
मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका कारण ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
प्रतियोगिताका धेरैजसो खेलहरु पोखरा रङ्गशालामा हुनेछन् । प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदैछन् ।
नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागे पनि क्रिकेट, ह्याण्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिसपर्धा यसअघि नै सुरु भइसकेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले बताउनुभएको छ।
बझाङका खेलाडी पनि पोखरामा
पोखरामा हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ जना खेलाडी छनौंट भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन धनगढीमा सम्पन्न प्रादेशिक छनौट खेल अन्तर्गत बझाङका २३ जना छनौट भएका हुन् । फुलकन्ट्याक्ट करातेँमा ७ जना, उसु तर्फ ४ जना, एथ्लेटिक्स तर्फ ३ जना, महिला क्रिकेट तर्फ २ जना, पुरुष क्रिकेट तर्फ १ जना, महिला टेवल टेनिस तर्फ १ जना, पुरुष खो खो तर्फ १ जना, पुरुष पौडी तर्फ १ जना, महिला फुटबल तर्फ १ जना, शारीरिक सुगठन तर्फ १ जना गरि २३ जना छनौट भएका बझाङ खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकाया ज्वाला गुरुले बताउनुभयो । उहाँका अनुसार फुलकन्ट्याक्ट कराते तर्फ बिकास परियार - ४० किलो, बिरेन्द्र बोहरा -५० किलो, हेमन्त बोहरा-५५ किलो, चन्द्र नेगी-६५ किलो, महिला तौल समूह तर्फ उषा रावल - ४५ किलो, बिमला रावल - ५५ किलो, ममिता बोहरा, पुरुष तर्फ रोहन कोलीलगायत रहेका छन् । बझाङको इतिहासमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगीतामा यति ठूलो संख्यामा खेलाडी छनौट भएको पहिलो पटक हो । अझैं पनि बझाङका खेलाडीहरुलाई पर्याप्त खेलमैदान, खेलमैदान र पारिवारिक सहयोग नपुगेको खेलकुद विकास समिति अध्यक्ष रोकायाले बताउनुभयो ।