बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपद्को धरापमा देखिएका छन् । बालबालिका पढ्ने विद्यालय जति सुरक्षित हुनुपर्ने भए पनि बझाङमा भने विद्यालयहरु नदी खोलाका किनार, भीरको टुप्पो वा फेदी, सडक छेउछाउमा बढी अवस्थित हुँदा धनजनसँगै शैक्षिक क्षति हुने गरेको छ । बझाङको शिक्षा विकास तथा समन्वय इकाईका अनुसार मस्टा गाउँपालिकाका १३, सुर्माका १०, बित्थडचिरका ७, साइपालका ६, छबिस पाथीभेराका २, खप्तडछान्नाका ५, जयपृथ्वीका ५, बुंगलका ४ गरी जिल्लाका १ सय १० विद्यालय पहिरोको उच्च जोखिममा छन् । तीमध्ये अधिकांशमा सडक बनेपछि पहिरो जान थालेको हो । सन् २०२१ मा बेलायती सहयोग नियोग, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र पोलिसी एन्ड इस्टिच्युसन फ्यासिलिटीले गरेको ‘नेपालको राजनीतिक अर्थव्यवस्थामा पहिरो, सडक निर्माण र जोखिम न्यूनीकरण’ अध्ययन प्रतिवेदनमा जथाभावी सडक निर्माणका कारण पहिरोको जोखिम बढेको उल्लेख छ ।
बझाङको केदारस्युँ गाउँपालिकाको भूमिदेव आधारभूत विद्यालय वारिबाट हेर्दा धरापजस्तै देखिन्छ। डरलाग्दो भीरको बीचमा रहेको विद्यालयका पाँच भवनलाई बीचमा पारेर दुईतिरबाट सडक बनाइएको छ । सडक बनेपछि सुरु भएको पहिरो विद्यालयको दायाँ र बायाँतिर निरन्तर बगिरहेको छ। विद्यालयलाई बीचमा पारेर माथिबाट बखेत भाट्सैन सडक र तलबाट बागथला भामचौर सडक बनेपछि दुई वर्षदेखि विद्यालयको पढाइ बिथोलिएको छ ।
पहिरोले बगाएर ल्याएको लेदो कक्षाकोठामा पस्न थालेपछि वर्षा नभएको बेला पनि पढाउन गाह्रो भएको प्रधानाध्यापक मानबहादुर धामी बताउँछन् । २ सय ३६ विद्यार्थीको भविष्यप्रति चिन्तित प्रधानाध्यापक धामी विद्यालय भवन अन्यत्र नसारे समस्या नसल्टिने निष्कर्षमा पुगेका छन् ।
बाढी र पहिरोको जोखिमपूर्ण भूगोलमा ठडिएका विद्यालय जिल्लामा दर्जनौं छन् । सडक बनेपछि पहिरोको जोखिममा परेका विद्यालयम केदारस्युँमा मात्रै भूमिदेवलगायत आठ वटा विद्यालय छन् । जहाँ ३ हजार १ सय ९१ विद्यार्थी पढ्छन् । दुर्गाथली गाउँपालिकाका २३ विद्यालय पनि विभिन्न कारण पहिरोको जोखिममा छन् । यी विद्यालयमा २ हजार ९७ विद्यार्थी अध्ययनरत छन् । गत वर्ष कात्तिकमा तीन दिन झरीपछिको बाढी र पहिरोले बझाङमा ३१ को ज्यान लियो। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १० अर्बभन्दा बढीको क्षति भयो, जसबाट सबैभन्दा धेरै विद्यालय प्रभावित छन् ।
बाढीपहिरोबाट ८९ विद्यालयका संरचनामा क्षति हुनुका साथै १० हजार ६ सयभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भयो। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदा अधिकांश विद्यालयले अहिले पनि जोखिमपूर्ण संरचनामा पढाइरहेका छन्। तर, प्रदेश सरकारले विद्यालयका संरचना निर्माणका क्रममा जोखिमका विद्यालयलाई प्राथमिकता दिनुभन्दा पनि पहुँचका आधारमा योजना वितरण गरेको देखिन्छ। विद्यालय सिरानको चैनपुर रुवातोला र बायाँतर्फ बनेको बस्टी भीमढुंगा सडकका कारण चार वर्षअघिदेखि पहिरो सुरु भएपछि तल्कोट गाउँपालिका–२, बस्टीगाउँको विश्वनाथ प्राथमिक विद्यालय सार्नुपर्यो। २०७५ भदौमा बाढीसँगै आएको पहिरोले विद्यालयको १० लाखमा बनेको भवनमा क्षति पुर्यायो। दुईकोठे पक्की भवन, फर्निचर, खानेपानीको संरचना र विद्यार्थीलाई दिवा खाजा तयार गर्ने भान्साघर क्षतिग्रस्त बन्यो।
कात्तिक २ मा जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिका–१, खातीगाउँको जगदम्बा आधारभूत विद्यालयका तीन पक्की भवन, शौचालय र खेलमैदान बगायो । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १ सय ६० जना विद्यार्थी छन्। गत साउनसम्म यहाँका विद्यार्थीले नजिकैको जंगलका रूखमुनि बसेर पढे।
जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले बाढी, पहिरो, भूकम्प जस्ता विपद्का बेला विद्यालयलाई सेल्टरका रूपमा प्रयोग गर्ने उल्लेख छ । तर यस्ता विद्यालय नै विपद्को जोखिममा पहिलो नम्बरमा देखिन्छन्। विद्यालय आफैं कति सुरक्षित छन् र तिनलाई सेल्टर प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ/सकिँदैन भनेर कुनै अध्ययन भएको देखिन्न। विद्यालयलाई कसरी विपद् प्रतिरोधी बनाउने भनेर पनि सरकारले कुनै मापदण्ड बनाएको छैन।
वर्षाले स्कुलको छाना बज्न थालेपछि जयपृथ्वी नगरपालिका–५ को लुयाटा आधारभूत विद्यालय कक्षा ८ की विद्यार्थी ईश्वरी जोशीको ध्यान खोलातिर पुग्छ। पोहोर कात्तिकमा डिलगाडले विद्यालयको शौचालय बगाएको उनले देखेकी थिइन् । विद्यालयका पाँचमध्ये तीन भवनलाई छोएर खोला बगिरहेको छ। ढुंगा पल्टाउँदै बग्ने डिलगाडले पश्चिमतिरको भवनको आधा जग काटिसकेको छ।
केदारस्युँस्थित पाउटा गाउँको रत्न माविको हालत फरक छैन। नदी कटानका कारण सामान्य बाढी आउँदा पनि ४ भवन बग्ने अवस्थामा छन्। झन्डै ६ सय विद्यार्थी पढ्ने विद्यालयको खेल मैदान कालंगा नदीको कटानका कारण आधा बगिसकेको छ। ‘कम्पाउन्डमा जोडिएको बाटो बगाएर नदी स्कुलनजिकै पुगिसकेको छ। कुनै पनि बेला विद्यालय बगाउने खतरा छ,’ शिक्षक तारादत्त पन्तले भने, ‘गएको साउन–भदौमा नै बगिसक्छ जस्तो लागेको थियो, धन्न जोगियो। यो वर्ष पनि नदी नियन्त्रण गर्ने प्रयास गरिएन भने विद्यालय कुनै हालतमा बच्दैन। यत्रा विद्यार्थीलाई कहाँ लगेर पढाउने हो चिन्ता लाग्न थालेको छ।’
नदी नियन्त्रण गर्न कसैले सहयोग नगर्दा झन्डै १ करोड लागतको विद्यालयको संरचना बग्ने अवस्थामा छ। रत्न माविका लेखापाल रघुवीर बोहराले गत वर्ष बाढीले विद्यालयको भवन नजिकै कटान थालेपछि बगाउने डरले महत्त्वपूर्ण कागजपत्र गाउँमा सारेर विद्यालय नै बन्द गरेको सुनाए। उनले कालंगा नदी विद्यालयतिर सोझिएपछि ४ वर्षदेखि हरेक बर्खा डरैडरबीच पढाउनुपरेको र बाढीले विद्यालय बगाउने डरले कतिपय अभिभावकले विद्यार्थीहरूलाई स्कुल नै नपठाउने गरेको बताए। विद्यालय आसपास रहेका स्थानीयका २० भन्दा बढी घरटहरा पनि कालंगा नदीको जोखिममा छन्। कसैले नदीमा हाल्न ग्याबिन जाली मात्र दिए श्रमदान गरेरै भए पनि समस्या सुल्झाउन तयार रहेको स्थानीय हरिलाल ठगुन्नाले बताए।
कालंगा नदीको किनारमा रहेको बुंगल नगरपालिकामा पर्ने खिरातडीको समैजी प्राविको भवनमा पनि नदीले कटान गरेको छ। ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत केदारस्युँको गर्जेपानी माविका संरचना तीन पटक बाढीले बगाइसकेको छ। यहाँ मात्रै तीन माध्यमिक र एक आधारभूत गरेर चार विद्यालय बाढीको उच्च जोखिममा छन्। १ हजार ८ सय ७८ विद्यार्थी त्रासै त्रासमा पढ्न बाध्य छन्।
नेपालका अधिकांश पहाडी जिल्लाका विद्यालय विपद्को जोखिममा छन् । तर बझाङमा यो समस्या चर्को छ। जिल्लामा अधिकांश नाम चलेका मावि र उच्च मावि नदी किनारमा छन्। बझाङका सेती नदी, कालंगागाड, बाहुलीगाडलगायत नदी र खोलाको किनारमा रहेका ३६ भन्दा बढी विद्यालय बाढीको उच्च जोखिममा छन्।