बझाङ : आगामी प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने स्पष्ट छ। तर यही जिल्लाको निर्वाचन क्षेत्र नं २ मा भने गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना छ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का लागि एमालेको तर्फबाट संविधानसभा सदस्यसमेत रहेका लालबहादुर रावल, गठबन्धनतर्फबाट माओवादी केन्द्रका भीम भण्डारी र कालंगा हाइड्रोका संस्थापकसमेत रहेका राप्रपाका वीरेन्द्र मल्लबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता गणेश भण्डारीले शनिवार साँझ विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको र गठबन्धनका उम्मेदवारलाई आफ्नो समर्थन रहने बताइसकेका छन्। अब राप्रपा नेपालका कृष्णबहादुर सिंहसहित प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा चार उम्मेदवार मैदानमा छन्। यद्यपि रावल, भण्डारी र मल्लबीच मुख्य प्रतिस्पर्धा हुन सक्ने जानकारहरू बताउँछन।
प्रदेशसभा २ मा केदारस्युँ, दुर्गाथली, वित्थडचिर गाउँपालिका, बुंगल नगरपालिका र थलारा गाउँपालिकाको वडा नं १ देखि ८ सम्मका मतदाताले मतदान गर्नेछन्। यो निर्वाचन क्षेत्रमा कुल ६१ हजार २०७ मतदाता छन्। यो निर्वाचन क्षेत्रको सबैभन्दा बढी मतदाता रहेको बुंगल नगरपालिकामा अन्य प्रतिस्पर्धीको जस्तै राप्रपाका मल्लको पनि राम्रो पकड रहेको स्थानीय बताउँछन्। प्रदेशसभा २ कै निर्णायक मानिएको यो नगरपालिकामा १९ हजार ३७९ मतदाता छन्। यो कुल मतदाता संख्याको करिब ३२ प्रतिशत हो।
जलविद्युत् आयोजना सुरु हुनुपूर्व विकासका हिसाबले पिछडिएको यो क्षेत्रमा ८५ मेगावाट क्षमताको कालंगा जलविद्युत् आयोजना सुरु भएसँगै यातायात सञ्जालको विस्तार, रोजगारी र स्वरोजगारका अवसरहरू सिर्जना भएको छ। यस क्षेत्रको विकासले फड्को मारेका कारण हाइड्रोका संस्थापक मल्लप्रति मतदाताको राम्रै झुकाव रहेको बुंगल नगरपालिकाका स्थानीयसमेत रहेका त्रिवेणी आर्दश बहुमखी क्याम्पस विजगडाका प्रमुख नरेश कुावर बताउछन।
‘पहिलाभन्दा मतदाताहरू पनि धेरै सचेत भइसकेका छन्। कसलाई मत दिँदा काम गर्न सक्छ भनेर निर्णय गर्न सक्ने अवस्थामा धेरैजसो पुगेका छन्। त्यसैले यो पालाको परिदृश्य अघिल्ला निर्वाचनभन्दा धेरै फरक हुनेवाला छ,’ कुँवर भन्छन्, ‘बुंगलमा मात्रै नभएर केदारस्युँ गाउँपालिकामा पनि मल्लको पकड राम्रो छ। एमाले र गठबन्धनका उम्मेदवारलाई उनले राम्रै टक्कर दिन सक्छन्।’ उनले एमाले र गठबन्धनका उम्मेदवारको अवस्था पनि कमजोर नभएकाले कसले बाजी मार्छ भनेर अनुमान लगाउन कठिन रहेको बताए। ‘तीनै जनाबीच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित हो। कसको पल्ला भारी हुन्छ भन्न सकिन्न’ उनले भने।
राप्रपाका मल्ल पहिलो पटक निर्वाचनको सामना गरिरहेकोले उनको प्रभाव कति छ भन्ने कुनै प्रमाणित तथ्यांक भने छैन। उसो त गठबन्धनका उम्मेदवार माओवादीका भीम भण्डारी पनि प्रदेशसभा सदस्यको रूपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसको बलियो पकड रहेको ठानिने यो निर्वाचन क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार माओवादीकी देवकी मल्लले २ हजार ५ सय १ मतको अन्तरले कांग्रेसका नरेशबहादुर सिंहलाई पराजित गरेकी थिइन्। मल्लले १६ हजार ७४३ मत ल्याउँदा सिंहले १४ हजार २४२ मत पाएका थिए।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा माओवादीले १ पालिका प्रमुखसहित ६ वडाअध्यक्ष जितेको छ। ४२ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा १ पालिका अध्यक्ष र १० वटा वडा एमालेले जितेको छ। ४ वडाको वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका थिए। बाँकी प्रमुख, उपप्रमुख र वडाअध्यक्ष गठबन्धन आबद्ध दलले जितेका छन्। जसमा कांग्रेसले २ प्रमुख ४ उपप्रमुख सहित १६ वटा वडा र नेकपा एसले १ प्रमुख, १ उपप्रमखसहित ९ वडा जितेको छ।
स्थानीय तहको निर्वाचनको परिणामका आधारमा गठबन्धनका उम्मेदवार भण्डारीको जित नजिक रहेको माओवादी निकट विश्लेषकहरूको दावी छ। ‘स्थानीय तहको निर्वाचनमा एमालेभन्दा गठबन्धन ३१ प्रतिशत मतले अगाडि छ,’ दुर्गाथलीका स्थानीय समेत रहेका माओवादी निकट इन्जिनियर कमल थापा भन्छन्, ‘अन्य उम्मेदवारले १५/१६ प्रतिशत मत काटे पनि माओवादीले १५ प्रतिशत बढी मतले जित्ने देखिन्छ।’ उनले मल्लले गठबन्धनको मात्रै नभएर एमालेको समेत मत काट्ने र मुख्य प्रतिस्पर्धा गठबन्धन र एमाले वीच नै हुने बताए।
यो क्षेत्रमा संविधानसभा सदस्य समेत भइसकेका लालबहादुर रावल पनि बलिया प्रतिस्पर्धी हुन्। संविधानसभा सदस्य भएको बेला सडक, पुल, खानेपानी, सिँचाइलगायत यो क्षेत्रमा विकासका थुप्रै योजना ल्याउन पहल गरेको जस स्थानीयले उनलाई दिने गरेका छन्। उनको गृह पालिका र छिमेकी केदारस्युँबाट रावलले राम्रो मत ल्याउन सके उनले पनि बाजी मार्न सक्ने बझाङ दीप क्याम्पस झोताका क्याम्पस प्रमुख वीरबहादुर विष्टको अनुमान छ। ‘गठबन्धनको प्रभाव क्षेत्रको मत मल्लले काटे र यताबाट क्षेत्रीय मत रावललाई गयो भने उनले पनि जित्न सक्छन्,’ विष्ट भन्छन्, ‘रावल अनुभवी र जनस्तरमा पनि राम्रै सम्बन्ध भएका नेता भएकाले उनको सम्भावना पनि नकार्न सकिँदैन।’