बझाङ : बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । गम्भीर घाइते ५० बर्षिया सिन्कि देवि भण्डारीको उपचारका लागि धनगढी लैजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो ।
अब घाइते संख्या १५ जना रहेका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने घाइते ४ जना धनगढी रेफर गरिएको छ । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ बर्षिया झरेन्द्र बोहरा रहेका छन् । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
दुर्घटनामा परि १७ जना घाईते मध्ये थप २ जनाको मृत्यु भएपछि अब घाइते संख्या १५ रहेको बझाङ प्रहरीले जनाएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, २५ बर्षिया कमला कठायत, २१ बर्षिया नन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए । जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो । ‘सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले भने । दुर्घटनामा प्रायः जसो मष्टा २ का मानिसहरुले ज्यान गुमाएका छन् । दुर्घटनाले मष्टा गाउँपालिका शोकमा डुबेको छ । यसअघि २०७६ साल असार २ गते पनि सोही सडक खण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए ।