बझाङ : २०४८ सालमा ऐन महर कक्षा–३ मा पढ्थे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भानुभक्त जोशीलाई भोट माग्न गाउँ आएको बेला पहिलोपटक त्यसबेला देखेका थिए । २०५१ मा भएको मध्यावधी निर्वाचनमा सोही पदमा उम्मेदवार बनेका जोशीको भाषण सुन्न साथीहरुसहित आमसभामा पुगेको महरको स्मृतिमा अहिले पनि ताजै छ । त्यतिबेला उनी कक्षा ६ का विद्यार्थी थिए ।
ऐन २०५५ सालमा एसएलसी पास गरेर काठमाडौं आएलगत्तै अस्कल क्याम्पसमा भर्ना भएर अनेरास्वियूबाट राजनीतिमा आबद्ध भएका हुन् । त्यसपछि भने जोशी र महरको देखादेख मात्रै होइन भेटघाट र सहकार्य समेत बाक्लो हुँदै गयो । २०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार बनेका जोशीलाई जिताउने अभियान चलाउनेमध्येका एक सक्रिय कार्यकर्ता थिए, ऐन महर । त्यसयता पनि २०६८ सालमा जोशी मन्त्री हुँदा होस् या नेकपाको एकतापछि केन्द्रीय सदस्य र सूदुरपश्चिम सहइन्चार्ज हुँदा होस् । जोशी र महरको सुमधुर सम्बन्ध र घनिभूत सहकार्य थियो । गत वर्षसम्म पनि महरले कुनैदिन उनै जोशीसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनन् ।
‘राजनीतिमा स्थायी शत्रु र मीत्र कोही हुँदैन’ भन्ने उक्ती उनिहरुको जीवनमा पनि चरितार्थ भएको छ । अहिले आएर आफैंले सम्मान गर्ने नेतासँग उनै महर आमनेसामने भएका छन् । ‘बच्चै देखि नै नेताको रुपमा चिनेको, सम्मान र सहकार्य गरेको मान्छेसँग एउटै चुनावमा प्रतिस्पर्धा गर्नु भन्ने त मैले पोहोरसम्म पनि सोचेकै थिएन,’ नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका महरले भने, ‘यो अवसरले मलाई दुःख र खुशी एकैपटक महसुुस गराएको छ ।’
एमाले पार्टी स्थापना गर्दा देखि पार्टी निर्माणमा योगदान गरेको र आफूले सम्मान गर्ने व्यक्ति विचलित भएर अर्को दलमार्फत आफैंसँग प्रतिस्पर्धामा आएको कुराले मन अमिलो हुने गरेको उनले बताए । अनुभवीले पटकपटक अवसर पाउँदा पनि जिल्लाको विकास र रुपान्तरणको लागि केही गर्न नसकेकोले पुरानो पुस्तालाई विस्थापन गर्ने अवसर पाएकोमा भने खुशी लाग्ने गरेको उनी बताउँछन् । ‘यो अवसरले लामो समय देखि नेतृत्व ओगटेर समाज रुपान्तरणको बाधकको रुपमा रहेका उहाँहरुको पुस्तालाई विस्थापन गर्ने जिम्मेवारी मेरो काँधमा राखिदिएकोमा दुःखभन्दा पनि खुशी नै बढी लागेको छ,’ उनले भने ।
उसो त पारिवारिक रुपमा सानै देखि महरलाई चिन्ने जोशीले पनि उनी कुनैदिन आफ्नै प्रतिस्पर्धीका रुपमा अगाडि आउलान् भन्ने सोचेका थिएनन् । २०५८/०५९ साल देखि आफ्नो राजनीतिक अभियानमासँगै काम गरेका, आफ्नै नेतृत्वको छाता भित्र हुर्काएका र कुनैबेला आफ्नै निकट सहयोगी रहेका व्यक्तिसँग आमनेसामने हुर्नुपर्दा जोशीलाई पनि राम्रो लागेको छैन ।
‘कुनैबेला मेरा निकट सहयोगी पनि रहेका व्यक्ति मसँगै प्रतिस्पर्धामा गर्नेछन् भनेर सोचेको थिइन । यो सबै परिस्थितीको उपज हो,’ जोशीले भने, ‘पार्टीको अभिभावकको रुपमा रहेका पाका पुराना, योगदान गरेका व्यक्तिका कुरा नसुन्ने, पाखा लगाउने प्रवृत्ति हावी हुँदै गए पछि यो अवस्था आएको हो । मैले त यो कुरालाई सामान्य रुपमा नै लिएको छु । तर पार्टी भित्रका धेरै शुभचिन्तकलाई यो परिस्थितीले पिडाबोध गराएको छ ।’
महरलाई अनेरास्वियुको केन्द्रीय नेतृत्वसम्म पुर्याउनका लागि आफूले पनि सहयोग गरेको बताउने जोशीले भने, ‘२०६४ साल देखि त मेरै सहयोगीको रुपमा पनि काम गर्नुभएको हो । उहाँलाई स्थापित गर्ने कुरामा मैले पनि सहयोग, सहजिकरण र समन्वय गरेको हो । तर आज यस्तो परिस्थिती आयो ।’ गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एकिकृत समाजवादीका उम्मेदवार रहेका जोशीले घटनाक्रमले सिर्जना गरेको परिस्थितीलाई सहज रुपमा लिनुको विकल्प नभएको बताए ।
परिस्थिती र घटनाक्रमले पहिलेका दुवै एमाले आमनेसामने हुनुपरे पनि आफूले सहज रुपमा जित्ने जोशीको दाबी छ । यता आफूले राजनीतिक पुस्तान्तरणको अभिभारा पाएकोले मतदाताले आफूलाई नै रोज्ने महरको विश्वास छ । जोशी २०५१ सालमा प्रतिनिधिसभा सदस्य, २०६४ सालमा संविधान सभा सदस्य र २०६८ सालमा वनमन्त्री भइसकेका छन् । अनेरास्वियुको केन्द्रीय अध्यक्ष भएपछि पार्टी संसदीय राजनीतिमा आएका महर चुनावी प्रतिस्पर्धामा नयाँ अनुहार हुन् । मुख्य प्रतिस्पर्धामा रहेका यी दुई नेताले आफूले सजिलै जित्ने दाबी गरे पनि दुवैका लागि जित भने त्यति सहज नभएको विश्लेषकहरुको अनुमान छ ।
प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा जोशी र महरसँगै अन्य सातजनाको उम्मेदवार चुनावी मैदानमा छन् । राप्रपाका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जसपाका रामबहादुर जाग्री र स्वतन्त्र उम्मेदवार डम्मरबहादुर खड्का तथा रामचन्द्र राना बझाङबाट प्रतिनिधिसभाको प्रत्यासी छन् ।
यद्यपि, मुख्य प्रतिस्पर्धा भने गठबन्धनका जोशी र एमालेका महर बिच नै हुने देखिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका भैरवबहादुर सिंहले जितेका थिए । त्यसबेला वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका सिंहले ७ हजार ७०२ मत अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका पृथ्वीबहादुर सिंहलाई पराजित गरेका थिए । एमालेले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसले २६ हजार ९ सय १० मत प्राप्त गरेको थियो ।
यो निर्वाचनमा परिस्थिती फेरिएको छ । अहिले एकातिर नेपाली कांग्रेस, एकिकृत समाजवादी र माओवादी केन्द्रको वाम लोकतान्त्रीक गठबन्धन छ भने अर्को तिर एमाले एक्लै चुनावी मैदानमा छ । ‘स्थानीय चुनावको परिणामलाई आधार मान्ने हो र गठबन्धनको मत सबै जोशीलाई जाने हो भने उहाँको सहजै जित हुने देखिन्छ,’ बझाङ दिप क्याम्पस झोताका प्रमुख विरबहादुर विस्ट भन्छन्, ‘तर मतदाताहरु पहिले जस्तो दलले गरेको निर्णयमा सहमत भएर जता भन्यो त्यतै मत हाल्ने जस्ता देखिँदैनन् । युवा नेतृत्व प्रतिको आर्कषण पनि राम्रै देखिएकोले महरले पनि बाजी मार्न सक्छन् ।’
स्थानिय तह निर्वाचनको परिणाम हेर्दा गठबन्धनको पल्ला भारी देखिए पनि भर्खरै सम्पन्न भएको सो निर्वाचनमा गठबन्धन भित्र भएका घात–अर्न्तघातको तुस मतदातामा कायमै रहेकोले यसले आगामी चुनावको परिदृष्यलाई बदल्न सक्ने अनुमान जयपृथ्वी क्याम्पसका सहायक प्राध्यापक लालबहादुर बोहराको छ । ‘स्थानीय तहको चुनावमा धेरै ठाउँ गठबन्धन भित्रै अर्न्तघात भएको थियो । कतैकतै तुस अझै पनि बाँकी छ । त्यही शैलीको पुनरावृत्ति नहोला भन्न सकिन्न,’ बोहरा भन्छन्, ‘अर्को भनेको युवा उम्मेदवारले आकर्षक एजेन्डा ल्याएर मतदाताको विश्वास जित्न सके नतिजामा प्रभाव पर्न सक्छ ।’