बझाङ : वैशाख १ गते गाडीबाट घर नजिकै ओर्लिदै गर्दा मष्टा- १ घर भइ हाल जयपृथ्वी नगरपालिका -३ डुंग्री बस्दै आएका एक ५६ वर्षीय पुरुषको भित्रि टाउको(दिमागमा ) गम्भीर चोट लाग्न पुग्यो । उनलाई तत्काल जिल्ला अस्पताल बझाङ लिइयो । जिल्ला अस्पताल गम्भीर चोट भन्दै धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गर्यो ।
माया मेट्रोले पनि उपचार गर्न नसक्ने जनाएपछि ती पुरुषलाई नेपालगञ्ज मेडिकल कलेज लगियो । त्यहाँ भर्ना हुँदै गर्दा विना लक्षण ती पुरुषमा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ देखिएपछि उनी लगायत धेरै जनलाई मेडिकल कलेजले भर्ना गर्न मानेन ।
बझाङदेखि हतार हतार नेपालगञ्ज पुगेका ती पुरुषका आफन्त मेडिकल कलेजको यो कुरा सुनेर छाँगाबाट खसेझैं भए । झन् विरामीको अवस्था झन् दयनिय बन्यो । त्यहाँबाट उनलाई फेरि ३८ हजार एम्बुलेन्स भाडा तिरेर बझाङ लगियो ।
अहिले उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको र अस्पताल जनशक्ति र स्रोत साधनले भ्याएसम्म उपचार गरिरहेको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो । उनको अहिले तल्लो शरिर (खुट्टा लगायत) को भाग नचल्ने अवस्थामा पुगेको विरामीका आफन्त रामचन्द्र रोकायाले बताउनुभयो ।
विरामीलाई शकस
कोरोना संक्रमण दर तिव्र भइरहेका बेला फेरि नेपालका अस्पतालले पुरानै रबैया देखाउन थालेका छन् । अस्पतालमा भर्ना भएका गम्भीर प्रकृतिका तर निको हुने विरामीलाई पनि अस्पतालले कोभिडको बहानामा भर्ना गर्न मानेका छन् ।
कोरोना देखिनासाथ अस्पतालले विरामी भर्ना गर्न नमान्नुले विरामी र उसका आफन्त नकारात्मक असर पर्ने गरेको डाक्टर मिलन खड्काले बताउनुभयो ।
अस्पतालले निको हुने र कोरोना लक्षणका नदेखिएका तर कोराना पोजेटिभ देखिएका विरामीलाई उपचार गर्दै अस्पतालले दिने सेवाको राम्रो प्रभाव देखिने र विरामीको ज्यान जोगिने बताउनुभयो ।