सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङमा प्रवेश हुँदै थिए । सोमबार प्रदेश राजधानी धनगढीबाट सोमबार ४ जना परिवार सदस्यसहित १६ जनाको टोली डडेल्धुरा पुगेको थियो । डडेल्धुरामा मन्त्री सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सकेर होटेल राइनोमा बास बसेका थिए । मंगलबार बिहानै डडेल्धुरास्थित प्रसिद्ध उग्रतारा मन्दिरको दर्शन गर्न बिहान ६ बजे सबै जना त्यहाँ पुगेका थिए । उग्रताराको दर्शनपश्चात करिब ७ बजे सकेर खाना खाइसकेपछि मन्त्री सिंहको गाडी अघि अघि बाँकी गाडी पछाडी हुँदै बझाङका लागि हिडेको जयपृथ्वी नगरपालिका ५ का राजेन्द्र थापाले बताए ।
मंगलबार दिउँसो ठिक १२ बजे बझाङ प्रवेश भएको मन्त्री सिंहको जीप १ः३० बजे बाग्थला बजार पुगेको थियो । केदारस्युँ गाउँपालिका ४ बाग्थलाबाट १५ मिनेट अगाडी बढेको जीप कालंगा खोला किनार धारछडी भन्ने स्थानमा दुर्घटनाग्रस्त हुन पुग्यो । जीपमा रहेका कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उनकी धर्मपत्नी अमृतादेवी सिंह, भाउजु जयदेवी सिंह, चालक धर्मराज जोशी र मन्त्री सिंहका सुरक्षागार्ड दीपक भण्डारी सबै गम्भीर घाइते बनेका थिए ।
गम्भीर घाइते उनीहरुलाई हतार हतार केदारस्युँ गाउँपालिकाको देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र र ऋतु पोलिक्लिनिक लगिएको थियो । उपचारकै क्रममा डाक्टरले मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयदेवी सिंह मृत्यु भएको पुष्टि गरे । ऋतुमै छँदा मन्त्री सिंहको नाबीको चाल र मुटुको धड्कनले काम गर्न छोडिसकेको त्यहाँ कार्यरत चिकित्सक सर्जन सुवेदीले बताए । सुर्खेतबाट आएको हेलिकप्टरले मन्त्री सिंहसहित चालक जोशी र अंगरक्षक भण्डारीलाई ४ः५८ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पु¥याएको थियो । त्यहाँ प्राध्यापक डाक्टर ढुण्डी राज पौडल नेतृत्वको टोलीले मन्त्री सिंहलाई बचाउन हर प्रयास गर्दा पनि नाबीको चाल र मुटुको धड्कनले काम गरेको नपाइएपछि वेलुका ५ः३३ बजे मृत घोषणा गरेको थियो ।
गत जेठ ६ गते शनिवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ खाएका सिंहले ३२ दिनमै अकाल मृत्युवरण गर्नुपरेको छ।
दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।
मन्त्री भइसकेपछि पहिलो पटक खुशी साट्न बझाङ
जेठ ६ गते लामो रस्साकस्सीपछि सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका पृथ्वीबहादुर सिंह मंगलबार धेरै कार्यक्रम तालिका बनाएर खुशी साट्न बझाङ आउँदै थिए । उनले बझाङमा रहँदा असार ६ गते ढँडार मष्टा मन्दिर दर्शन तथा भेटघाट गरेर एलइओसी कार्यक्रम उद्घाटनसहित बझाङका कार्यालय प्रमुखलाई निर्देशन दिएर ७ गते धनगढी फिर्ता हुने कार्य तालिका थियो । तर अपसोच उनले सदरमुकाम चैनपुर पुग्न नपाइ ४० किलोमिटर टाढाबाट अस्ताउनु पर्यो। सिंह प्रदेश सरकारमा बझाङबाट मन्त्री बन्ने पहिलो व्यक्ती हुन् । ५५ वर्षको उमेर भएको उनको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ । ४ मंसिरमा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए ।
राजनीति र समाजसेवा सँगसँगै गर्न सक्ने शालिन व्यक्तित्वका धनी मन्त्री सिंह जिल्लाका पुराना काँग्रेसी नेता हुन्। दुई पटकसम्म नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिका सभापति भएका सिंह काँग्रेसवृत्तको कुसल संगठनकर्ता थिए।
पार्टीभित्र र बाहिर लोकप्रिय नेताको पहिचान बनाएका मन्त्री सिंह पार्टीको काममा हरदम खटिन सक्ने क्षमता भएका नेताको छवि बनाएका थिए। पञ्चायत कालमै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सिंह अहिले पटक २०७४ मा संघीय प्रतिनिधि सभाका लागि चुनाव लडेका थिए। थोरै मतान्तरले सिंह नेकपा एमालेका भैरवबहादुर सिंहसँग पराजित भएका थिए। गत मंसिर ४ मा भएको चुनावमा भने मन्त्री सिंह बझाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) बाट निर्वाचित भएका थिए।
मन्त्री सिंह बझाङका परिचित कानून व्यवसायी पनि थिए। जिल्लाका सर्वसाधारण र काँग्रेस निकट व्यक्तिका लागि निःशुल्क कानूनी बहस गर्न तयार हुने कानून व्यवसायीको पहिचान सिंहले बनाएका थिए। आर्थिक समस्या भएका व्यक्तिका लागि अदालतमा गरिने बहसको सिंहले कुनै किसिमको शुल्क लिंदैनथे। अदालतमा मुद्दा मामिला पर्दा बझाङका सर्वसाधारणले सम्झिने व्यक्तिको दुर्घटनामा ज्यान जाँदा सिङ्गो जिल्ला स्तब्ध भएको कटक जप्रेलले बताएका छन्।
माओवादी द्वन्द्वका समयमा बझाङ काँग्रेसका अर्का नेता वेदप्रकाश जोशीलाई माओवादी विद्रोहीले अपहरण गरेर हत्या गरेका थिए। साबिक लुयेटा गाविस र हाल जयपृथ्वी नगरपालिका वडा नम्बर ५ घर भएका मन्त्री सिंह द्वन्द्वकालमा पनि जिल्लामा नै बस्थे। द्वन्द्वको समयमा माओवादी पक्षले एक महिना सिंहलाई आफ्नो कब्जामा राखेको थियो। एक महिनासम्म माओवादी कब्जामा रहे पनि उनको सकुशल रिहाई भएको थियो।
पार्टी भित्र तटस्थ बस्न सक्ने, विपक्षी पार्टीबाट पनि आलोचित नहुने क्षमता मन्त्री सिंहमा रहेको बझाङ काँग्रेसका नेताहरूले बताएका छन्। सबैसँग सद्भाव कायम गर्न सक्ने व्यक्तित्वको दुःखद अन्त्य सरकारी कामको सिलसिलामा गृह जिल्ला जाने क्रममा भएको छ। द्वन्द्वकालमा माओवादीसँग बाँच्न सफल नेता सिंह गाडी दुर्घटनामा जोगिन सकेनन्।