घटना भएको दुई हप्ता बितिसक्दा पनि बझाङको मष्टा गाउँपालिकामा दुई जना बालिकामाथि सामूहिक बलात्कारको आरोप लागेका तीन जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गत भदौ १४ गते साँझ ६ बजेतिर मष्टा गाउँपालिका १ रनाडा रुपदेउली टोलका दुई बालिका फकाएर सामुहिक बलात्कार गरेको आरोप लागेका तीनै जना त्यसैदिनदेखि फरार रहेका थिए । घटना घटेको दुई हप्ता बिते पनि प्रहरी भने आरोपित समात्न त परै जाओस् उनीहरुको उमेर पत्ता लगाउन पनि असफल देखिएको छ । पिडितका आफन्त र मिडियालाई अनुसन्धानमै छौ भनेर ओठे जवाफ दिने बझाङ प्रहरीले अझैं आरोपितहरुको पूर्ण विवरण संकलन गर्न असफल देखिएको छ ।
सामाजिक सञ्जालमा बझाङ प्रहरी घटनामा उदासिन रहेको आरोप लागिरहेका बेला बझाङ प्रहरी प्रमुख भरतबहादुर शाहले भने एक्कासी आफूहरु उनीहरुविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गर्न लागेको बताएका छन् । आरोपितको उमेर र बालिकाको स्वास्थ्य परिक्षणको रिर्पोट कस्तो आयो भन्ने प्रश्नमा डिएसपी शाहले अनुसन्धान भइरहेका बेला यी कुरा खोल्न नहुने जवाफ दिएका छन् । उनका अनुसार अभियुक्तहरूको उमेर प्रमाणित गर्नका लागि शुक्रबार मात्रै मष्टा गाउँपालिका वडा नम्बर -१ लाई पत्र लेखिएको र अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य भइरहेको छ ।
यही भदौ १४ गते साँझ ६ बजेतिर पसल हिँडेका रुपदेउली टोलका १२ र १३ वर्षीया दुई बालिका तीन जनाबाट बलात्कारको शिकार भएका थिए । आरोपितले स्थानीय सरस्वती मावि हातामा बोलाएको र नजिकैको जंगलमा लगेर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । मष्टा गाउँपालिकामा दुई जना बालिकालाई ३ जनाले बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।
‘साँझ ६ बजे गाउँ नजिकैको पसलमा कापी किन्न भान्जीसँग पसल गएकी हो । त्यहीँनेर स्कुलमा खेलिरहेका तीन जनाले मेरी छोरी र भान्जीलाई बोलाएर चाउचाउ बिस्कुट खुवाएछन् । त्यहाँबाट आसीकारन्या जंगलमा लगेर बलात्कार गरेर भागेछन्,’ एक पीडित बालिकाकी आमाले भनिन्, ‘मध्यरातमा छोरी र भान्जी भेटायौं । त्यतिबेला दुवै जना होसमा थिएनन् ।’
पीडितका आफन्तलाई पीडकका आफन्तले धम्क्याइरहेको पनि उनले बताइन् । ‘उनीहरूका आफन्तले हामीलाई त्यत्तिकै आरोप लगाउने ? खुकुरी हान्दिछौं भनेर उल्टै थर्काइरहेका छन् ।’
उता भारतमा रहेका पिडितका आफन्तलाई पनि आरोपितहरुले सामाजिक सञ्जाल मार्फत् तुच्छ शब्दले गाली बेइज्जती गर्दै ठेगाना दिए ज्यान मार्ने धम्की दिइरहेको पिडित पक्षको भनाई छ ।
यो पनि पढ्नुहोस्
बझाङमा तीन जना मिलेर दुई जना नाबालिका जबरजस्ती करणी गरेको आरोप