३ वर्षपछि उद्योग वाणिज्य संघ बझाङले शिल्देवी मेलाको अवषर पारि आइतबार भलिबल प्रतियोगीताको उद्घाटन गर्यो । ‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ प्रतियोगीतामा जिल्लाका पालिका स्तरिय १६ पुरुष र ९ महिला टिम सहभागी छन् । मंगलबारसम्म ११ खेल सम्पन्न भएका छन् । कार्तिक १ गते मंगलबारबाट महिला/पुरुष देउडा प्रतियोगीता पनि सुरु भएको छ तर बझाङबासीलाई कामको व्यस्तता र निर्धारित मिति मौषमका कारण घर्किदा पहिलेका वर्षहरुजस्तो उमंग चैनपुरमा अहिले छैन । पहिले टाढा-टाढाबाट देउडा खेलाडी, इष्टमित्र भेट गर्नेहरु र युवायुवतीको चैनपुरमा बाक्लो उपस्थिति हुन्थ्यो ।
यस पटक पुरुष भलिबलतर्फ प्रथम टिमलाई १ लाख ३१ हजार पुरस्कारको व्यवस्था गरिएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले जानकारी दिए । पालिकास्तरीय भलिबलतर्फ सर्वाधिक पुरस्कारको व्यवस्था गरिएको सुर्मेलीले बताए । पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १११ रुपैयाँ तोकिएको छ । द्वितीय पुरस्कार ७५ हजार १११ तथा तृतीय पुरस्कार ५१ हजार एक १११ तोकिएको छ । साथै, सान्त्वना पुरस्कार ११ हजार १११ रुपैयाँ छ ।
महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १११, द्वितीय पुरस्कार ३१ हजार १११ तथा तृतीय पुरस्कार २१ हजार १११ छ । सान्त्वना पुरस्कार ५ हजार १११ रुपैयाँ व्यवस्था गरिएको छ । विजेता टिमलाई कप, मेडलको साथै प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै देउडामा पनि प्रथम र दोस्रो स्थान प्राप्त गर्नेलाई नगद पुरस्कारसहित सम्मान गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।
यी खेलहरु सञ्चालन हुने निर्धारित मिति असोज २३ गते कोजाग्रत पूर्णिमाका दिन हो तर यस वर्ष पनि त्यस समयमा बेमौसी पानीले अवरोध गर्यो । यसअघिका २०७७ सालमा कोरोना महामारी, २०७८ सालमा पनि बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले शिलदेवी मेला अवरोध गरि रह्यो । विगतका वर्षमा कोजाग्रत पूर्णिमाका दिनदेखि चैनपुरमा सुर्मादेवी (शिलदेवी) मेला हेर्न आउनेको चहलपहल सुरु हुन्थ्यो ।
मेलाकै अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सन्देशसहितका ब्यानरले सदरमुकाम चैनपुरलाई दुलहीझैँ सजाइएको देखिन्थ्यो । बजारमा लुगाकपडा, बालबालिकाका खेलौना, सडक छेउमा मिठाइ पसल हुन्थेँ । जताततै पाल टाँगिएका पसलमा राखिएका अनेकन चिज वस्तु हेर्नेको भिड देखिन्थ्यो । चैनपुर सबै सडकमा युवकहरुले युवती पछ्याएका दृश्यहरु देखिन्थे । स्थानीय एफएम रेडियोमा फलानो ठाउँमा यस्तो कार्यक्रम हुने भनेर सूचना बज्थे । तर यी तीन वर्ष भने धेरैलाई त शिलदेवी जात्रा कहिले हो याद नै भएन ।
कोजाग्रत पूर्णिमाको दिनबाट सुरु हुने यो मेला जिल्लाको प्रसिद्ध र प्रमुख मेलाका रुपमा मानिने हुँदा विभिन्न कार्यक्रम गरी ३–४ दिनसम्म मनाइन्छ ।
मेलालाई जिल्लाभरिका मान्छेको भेटघाट गर्नेथलोका रुपमा पनि चिनिन्छ । मेलालाई व्यवस्थित गर्न पछिल्लो समय महिला–महिला, पुरुष–पुरुष र महिला–पुरुषका देउडा खेल, सांस्कृतिक कार्यक्रम, सडक नाटक, राजनीतिक पार्टीका भेटघाट, कोणसभालगायतका कार्यक्रम पनि यसै समयमा गर्ने हुँदा यसलाई मिनी महोत्सवका रुपमा पनि लिइने गरिन्छ। जात्रामा भलिबल र सांस्कृतिक कार्यक्रम हुने हुँदा ४ दिनसम्म मनाइन्छ । छिमेकी जिल्ला बाजुरा, बैतडी, अछाम, डोटी, डडेलधुरासम्मका देउडा खेलाडी र भक्तजन पनि मेला हेर्न आउने गर्छन् ।
मेलाको ऐतिहासिक महत्व
११ औँ शताब्तीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोबर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासँग काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाव बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।
उक्त भनाइअनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुर उपत्यकाबीच भागमा रहेको ढुंगामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुंगा (शिल) लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् । त्यही दिनको सम्झनामा प्रत्येक कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गरेको बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् ।
शास्त्रीका अनुसार पछि १६ औँ शताब्दीतिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भव्य बनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आकर्षक गराउन पहल गरेका थिए । मेलाको दिन आएर शिलदेवीको दर्शन गरे पुण्य प्राप्त हुने र यच्छाले चाहएको बर प्राप्त हुने भनाइले यसको महत्व अझ बढेको शास्त्री बताउँछन् ।
फोटो क्याप्सन ः आइतबार जिल्ला सदरमुकाम चैनपुर आयोजित बझाङ उद्योग वाणिज्य संघ कप २०७९ को उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा